काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ ।
सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुन: लिने गरी आजलाई सकिएको हो ।
बिहान करिब साढे नौ बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको हो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लामिछानेमाथि छ । शनिबार बिदा भएकाले उनको बयान हुनेछैन । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ ।
उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेलाई पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
पोखरामा अझै अनुसन्धान सकिएको छैन । प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।