काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी रहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान जारी रहेको हो । हिजो अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि नसकिएको भन्दै आज पनि बयान लिइएको हो ।
सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई रूपन्देही, काठमाडौं हुँदै बयानका लागि हिजो चितवन लगिएको थियो ।
तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने माथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।
जिबी राई संलग्न चितवनस्थित साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको थप आरोप उनी माथि छ, जसको बयानका लागि उनलाई काठमाडौंबाट चितवन लगिएको हो ।
गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसिर हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।