गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-७ पल्टार निवासी कर्णबहादुर कुमालले आफ्नो बारीमा बाँदर धपाउनको लागि लगाएको करेन्ट (तार) लागेर बारीमा काम गरिरहेकी निजकी श्रीमती अन्दाजी ६० वर्षकी चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले बताए ।
विद्युतीय तारमा परि घाइते भएकी चन्द्रकला कुमालको लुम्बिनी वामी हस्पिटलमा उपचार गर्दागर्दै मृत्यु भएको गुल्मीका डीएसपी सारुले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा र प्रहरी चौकी वामीटक्सारबाट प्रहरी प्रकाश बहादुर शाहीको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।