काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा पारिएको लामिछानेको उक्त निवेदन आज भने हेर्न मिल्ने न्यायाधीशहरू रहेको इजलासमा पेसी तोकिएको हो ।
आइतबार सर्वोच्चले नै दिएको आदेशबमोजिम छैटौँपटकको पेसी भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा पारिएको हो । अब भने उनको निवेदनमा सुनुवाइ हुने देखिएको छ । नत्र यसअघि पाँचपटक पेसी तोकिए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भनी सुनुवाइ गरिरहेका थिएनन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पुन: पक्राउ परेका हुन् ।
तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको हो ।
उनले थुनामा पठाउने उच्च अदालतको आदेश पनि बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिइसकेका छन् । हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन् । रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि रुपन्देही कारागारमै छन् ।
एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएपछि उनी पुन: पक्राउ परेका थिए ।