टोरन्टो - लामो समयदेखि शैक्षिक तथा अध्यागमनसम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एडुकेशन एन्ड भिसा सर्भिसेजले क्यानडामा आफ्नो कार्यालय खोलेको छ ।
शुक्रवार टोरन्टोको मुख्य सहरी भागमा अवस्थित कार्यालयको एक समारोहबिच एक्सपर्ट एडुकेशन एन्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले उद्घाटन गरेका थिए ।
उनले क्यानडा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भरपर्दो सूचना तथा अध्यागमन सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले टोरन्टोमा कार्यालय खोलेको जनाए ।
उनले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना वातावरण संसारमै चुनौतीपूर्ण बन्दै गए पनि विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा आफ्नो कम्पनीले कुनै सम्झौता नगर्ने बताए ।
उक्त अवसरमा एक्सपर्ट एडुकेशन एन्ड भिसा सर्भिसेजका ग्लोबल ग्रुप म्यानेजर मन्जीत (म्यानी) घिमिरेले क्यानडामा एक्सपर्ट एडुकेशनको ८९ औँ शाखा खोल्न पाउँदा आफूहरू अत्यन्तै गौरवान्वित भएको बताए ।
उनले यो यात्रामा सघाउनु हुने सबै विद्यार्थी, अभिभावक, विश्वविद्यालय, कलेजहरू लगायत सबैलाई धन्यवाद दिए । २१ वर्ष पहिले अस्ट्रेलियामा स्थापित उक्त कम्पनीका अहिले २५ मुलुकमा कार्यालयहरू रहेका छन् ।
कार्यक्रममा क्यानडास्थित विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू तथा टोरन्टोस्थित नेपाली समुदायका अगुवाहरूको पनि उपस्थिति थियो ।
