काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नियत सफा राखेर काम गर्दा कसैसँग डराउन नपर्ने बताउनुभएको छ ।
आइतबार महानगरपालिकाका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षको छ महिनाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै मेयर बालेनले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने बताउनुभएको हो ।
उहाँले विभागीय कर्मचारीहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन समेत गर्नुभएको छ । ‘गलत गर्नुहुँदैन । फेरि गल्ती गर्नेलाई कारबाही गर्नैपर्ने हुन्छ ।
तर हामीले राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्दै आएकै छौँ,’ उहाँले भन्नुभयो, ‘गएको वर्षको तुलनामा यसबर्ष गुनासा कम छन् ।
सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, त्यो हेर्नुपर्छ ।काम भइसकेपछि भुक्तानी रोकिरहन आवश्यक छैन ।’
मेयर बालेनले वर्षौसम्म काम गरिरहेका कर्मचारीहरूको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने बताउनुभयो । ‘धेरै कार्यक्रमहरूमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ ।
यी कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मेवारी विभागीय प्रमुखहरूको हो, यसलाई प्राथमिकता राख्नुहोला,’ मेयर शाहले निर्देशन गर्नुभयो ।